काठमाडौं: नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक (एसपी) एसएसपीमा बढुवा सिफारिस हुँदा राजनीतिक चलखेलको आरोप लागेको छ। बढुवा सिफारिसमा योग्य र कार्यसम्पादनमा अब्बल अधिकृतहरूलाई पछाडि पारेर भेगीय र राजनीतिक आधारमा प्राथमिकता दिएको गुनासो आएको छ।
स्रोतका अनुसार कांग्रेस निकट भनिएका केही अधिकृतहरूलाई वरियताक्रमभन्दा अगाडि ल्याइएको छ। १५औं स्थानमा रहेका अजय केसीलाई दोस्रो स्थानमा, १७औं स्थानमा रहेका बीरबहादुर बुढालाई चौथो स्थानमा, र १६औं स्थानमा रहेका नवराज अधिकारीलाई पाँचौं स्थानमा उकासिएको छ। यी तीनजना सुदूरपश्चिमका र कांग्रेस नेताहरूसँग नजिक भएका कारण प्राथमिकता पाएको भनिएको छ।
यसैबीच, वरियताक्रममा दोस्रो स्थानमा रहेका अनुसन्धानमा दक्ष कृष्णप्रसाद कोइरालालाई छैटौं स्थानमा घटाइएको छ। ३८औं स्थानमा रहेका राजेन्द्र धमलालाई २०औं स्थानमा र प्रभु ढकाललाई पनि अगाडि ल्याइएको छ। तुलबहादुर कार्की, राकेश सिंह, र राजीवबहादुर बस्नेतजस्ता अधिकृतहरूलाई भने बढुवामा छुटाइएको छ।
एसएसपीमा बढुवा सिफारिस भएका अधिकृतहरूमा रमेश थापा पहिलो स्थानमा छन्। उनी प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्।
सिफारिसमा परेकाहरूमा अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढा मगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, र श्याम कुमार महतो प्रमुख छन्।
त्यस्तै, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल पनि सूचीमा समावेश छन्।
बढुवा प्रक्रियामा निष्पक्षता र पारदर्शिताको विषयमा विभिन्न पक्षबाट प्रश्न उठाइएको छ।