Sunday, November 8, 2026
Homeसामाचारवैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना ,दुई सय सात जनाको निधन

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना ,दुई सय सात जनाको निधन

काठमाडौँ, १५ भदौ – गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर ३,२८१ विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परेर २०७ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता र ७७४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ५,९६३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

प्राधिकरणका तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । एक हजार १९७ आगलागीमध्ये १५ जनाको मृत्यु, १६५ घाइते र सयौँ परिवार प्रभावित भएका छन् ।

बाढीका २४३ घटनामा २७ जनाले ज्यान गुमाएका छन् भने २२ जना बेपत्ता र १० जना घाइते भएका छन् । यसबाट १,७७८ परिवार प्रभावित भएका छन् । सोही अवधिमा ३६८ स्थानमा पहिरो गएको छ, जसमा १८ जनाको मृत्यु, २८ घाइते र ४८१ परिवार प्रभावित भएका छन् ।

त्यसैगरी, २६६ वटा भारी वर्षाका घटनामा ६ जनाको मृत्यु, १२ घाइते र ११ परिवार प्रभावित भएका छन् । २५८ वटा चट्याङका घटनामा ३१ जनाको मृत्यु, १९३ घाइते र ३१७ परिवार प्रभावित भएका छन् ।

सर्पदंशका २६८ घटनामा ७२ जनाले ज्यान गुमाएका छन् । यसबाहेक २०२ जना घाइते र २७२ परिवार प्रभावित भएका छन् । १५८ वटा वन डढेलोमा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, २८० वटा हुरीबतासका घटनामा ८ जनाको मृत्यु, ४१ घाइते र ५३६ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सो अवधिमा जनावर आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने लेक लाग्नुका ४९, भूकम्पका पाँच, डुङ्गा पल्टिने दुई र असिना तथा माहामारीका एक–एक घटना घटेका छन् ।

प्राधिकरणले विपद् न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्दै सम्भावित जोखिम सामना गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका