Saturday, November 7, 2026
Homeसामाचारवैदेशिक रोजगारीको प्रलोभनमा काठमाडौंमै विदेशी नागरिक बन्धक, ७ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा काठमाडौंमै विदेशी नागरिक बन्धक, ७ जना पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीको सुनौलो सपना देखाएर काठमाडौंमै विदेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको घटना सार्वजनिक भएको छ। बुढानीलकण्ठ नगरपालिका–८, भंगालस्थित एक घरबाट प्रहरीले ५ जना बंगलादेशी नागरिकको उद्धार गरेपछि घटना बाहिर आएको हो। घटनामा संलग्न रहेको आरोपमा विदेशी तथा नेपालीसहित ७ जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, विदेशी नागरिकहरूलाई अवैध रूपमा थुनामा राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी टोली घरमा पुग्दा सीमित कोठाभित्र राखिएका ५ जना बंगलादेशी नागरिक फेला परेका थिए। उनीहरूलाई बाहिर जान नदिइएको र मानसिक दबाबमा राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अनुसन्धान अनुसार ती नागरिकहरूलाई इटाली पठाइदिने आश्वासन दिई नेपाल ल्याइएको थियो। दलालहरूले आकर्षक तलब, कानुनी कागजात र छिटो भिसा प्रक्रियाको प्रलोभन देखाएका थिए। नेपाल ल्याएपछि भने उनीहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न नदिई एउटा घरभित्र राखेर थप रकम असुल्ने प्रयास गरिएको थियो। परिवारसँग सम्पर्कसमेत सीमित गरिएको पीडितहरूले बताएका छन्।

स्थानीय बासिन्दाका अनुसार उक्त घर बाहिरबाट सामान्य आवासीय जस्तो देखिन्थ्यो। भित्र विदेशी नागरिक लामो समयदेखि बसिरहेको कुरा पछि मात्रै थाहा पाएपछि प्रहरीलाई जानकारी गराइएको थियो।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरूमा ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हु, ४० वर्षीय यमडी मसिभुर रहमान, ४१ वर्षीय भारतीय नागरिक सरोज कुमार र नुवाकोटका ३२ वर्षीय नेपाली नागरिक सशि पाठक रहेका छन्। पक्राउ परेकामध्ये केही बंगलादेशी नागरिक स्वयं गिरोहका सदस्यका रूपमा संलग्न रहेको प्रहरीको भनाइ छ।

उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। प्रहरीले घटनालाई मानव बेचबिखन तथा ओसारपसारको कोणबाट समेत अनुसन्धान गरिरहेको छ। नेपाल हुँदै तेस्रो मुलुक पठाउने अवैध प्रक्रिया पुष्टि भएमा थप कडा कानुनी कारबाही हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दक्षिण एसियाली मुलुकहरूबाट युरोप पठाइदिने नाममा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको आशंका गरिएको छ। नेपाललाई ट्रान्जिट रुटका रूपमा प्रयोग गर्ने जोखिम बढ्दै गएको सुरक्षा अधिकारीहरूको भनाइ छ। यस्ता गिरोहहरूले नक्कली अफर लेटर, भिसा आश्वासन र विभिन्न प्रोसेसिङ शुल्कको नाममा लाखौं रुपैयाँ असुल्ने गरेको पाइएको छ।

प्रहरीले रकम लेनदेनको ट्र्याकिङ तथा अन्तर्राष्ट्रिय समन्वयमार्फत थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका