Wednesday, June 24, 2026
Homeअर्थ र ब्यापारवीरगन्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, स्वास्थ्य–शिक्षा र पूर्वाधार विकासमा प्राथमिकता

वीरगन्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, स्वास्थ्य–शिक्षा र पूर्वाधार विकासमा प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढी तथा करिब १६.५५ प्रतिशतले वृद्धि भएको बजेट हो।

बुधबार सम्पन्न २०औँ नगर अधिवेशनमा प्रस्तुत बजेटअनुसार चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वडा नं. ४ का अध्यक्ष जगत साह कानुले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षका लागि चालुतर्फ ५४.३ प्रतिशत, पुँजीगततर्फ ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १.१ प्रतिशत बजेट छुट्याइएको जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५८.५ प्रतिशत बजेट खर्च भइसकेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट, प्रदेश सरकारको अनुदान, घरजग्गा रजिस्ट्रेसन शुल्क, आन्तरिक राजस्व तथा अन्य स्रोतबाट बजेट व्यवस्थापन गर्ने जनाएको छ।

आगामी वर्षको बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापन र वातावरण संरक्षणलाई प्रमुख प्राथमिकता दिइएको छ। साथै स्वरोजगार प्रवर्द्धन, सहर सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमसमेत समेटिएका छन्।

नगर अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक नगरप्रमुख आलमले सरसफाइ, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर सुधारलाई विशेष प्राथमिकतामा राखिएको बताए। उनले खानेपानी संकट समाधान, सिर्सिया खोलाको व्यवस्थापन, पूर्वाधार विकासलाई तीव्रता र पर्यटन प्रवर्द्धनलाई समेत बजेटका प्रमुख लक्ष्यका रूपमा अघि सारिएको जानकारी दिए।

महानगरपालिकाले व्यवस्थित, स्वच्छ र दिगो सहर निर्माण गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट ल्याएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका