वीरगञ्ज (पर्सा) — खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा आज हस्ताक्षर गरिएको छ।
खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल र वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले समझदारीपत्रमा हस्ताक्षर गरे।
उक्त समझदारीअनुसार अब नयाँ उपभोक्ताहरूलाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइनेछ। साथै, नयाँ उपभोक्तालाई निःशुल्क धारा जडान गरिने र जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको छ।
मन्त्री यादवले वीरगञ्ज शाखामा आवश्यक जनशक्ति अभिवृद्धि गरिने जानकारी दिँदै यसले खानेपानी समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आजको सहमतिलाई वीरगञ्जबासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने अवसरको रूपमा व्याख्या गरे।
खानेपानी मन्त्रालय, विभाग र संस्थानले वीरगञ्जसहित तराई–मधेशका जिल्लामा बढ्दो खानेपानी संकटको तत्काल र दीर्घकालीन समाधानका लागि निरन्तर काम गरिरहेको मन्त्री यादवले स्पष्ट पारे।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, संस्थान अध्यक्ष डा. ढुण्डिराज भट्टराई, संघीय ढल व्यवस्थापन पर्सा प्रमुख बिपुल दास, पर्सा शाखा प्रमुख प्रबीन साह, बारा शाखा प्रमुख सञ्जीब यादव, संस्थान बोर्ड सदस्यहरू लगायतको उपस्थिति थियो।


