काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा कुनै ठोस प्रमाण र कानुनी आधारबिना पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न आदेश जारी गर्न माग गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको शेयर कारोबारमा ‘चिनजान गराइदिएको’ भन्ने बयानलाई आधार बनाएर पौडेललाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा अदालतले मंगलबार थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।
पौडेललाई सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोही रात सार्वजनिक सवारी साधनमार्फत काठमाडौं ल्याइएको थियो।
पक्राउको वैधानिकता र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि अब अदालतले सुनुवाइ गर्नेछ।


