Wednesday, March 19, 2025
Homeदेश र प्रदेशविवाह पञ्चमी : सीताको स्वयंवर आज

विवाह पञ्चमी : सीताको स्वयंवर आज

जनकपुरधाम :
आजु मिथिला नगरिया नेहाल सखिया
चारु दुलहामे वरका कमाल सखिया !

सीताराम विवाहपञ्चमी महोत्सवमा मिथिला मग्न छ। बुधबार भगवान सीतारामको विवाहमा सहभागी हुन लाखौं श्रद्धालु जनकपुर आइपुगेका छन्।
राजा जनकको दरबारमा सीता स्वयंवरको सम्पूर्ण तयारी भइसकेको छ। दुलहीझैं सजिएको जानकी मन्दिर प्रांगणमा वैवाहिक वेदी तयार गरिएको छ। विवाहको वेदी तयार गर्न मंगलबार पवित्र गंगासागर पोखरीबाट
माटो ल्याएर मटकोर सम्पन्न गरिएको थियो।

पोखरीबाट ल्याइएको माटोले नै वेदी बनाउने परम्परा छ। सोही वेदीमा सीतारामको विवाह हुनेछ। त्रेता युगमा गाँसिएको पौराणिक र धार्मिक सम्बन्धको साक्षी बन्नका लागि जनकपुर आएका श्रद्धालुहरूले जानकी मन्दिर भरिभराउ छ। गत वर्ष कोरोना महामारीले सीताराम विवाह महोत्सव आयोजना भएन। विवाह पञ्चमीमा जानकी मन्दिरमा धार्मिक विधिविधान भए पनि मेला आयोजना गरिएको थिएन।
त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। आदर्श जोडी सीतारामको विवाह उत्सव प्रत्येक वर्ष जनकपुरमा मंसिर शुक्ल पञ्चमीका दिन मनाइन्छ। साताव्यापी महोत्सवमा हुने सबै विधिहरू लोकपरम्परा अनुसार मनाइन्छ।

वैवाहिक समारोह अवधिभर जनकपुर दुई भागमा विभाजित हुने गर्दछ। जानकी मन्दिर दुलही पक्ष र राम मन्दिर दुलहा पक्ष बन्छ। अयोध्याबाट आउने साधुसन्तहरू राम मन्दिरमा बास बस्छन् र वैवाहिक समारोहमा जन्ती बनेर जानकी मन्दिर पुग्छन्। जानकी मन्दिरमा छोरी पक्षले जन्तीहरूलाई भव्य स्वागत गर्छन्। ऐतिहासिक बारहबिघा मैदानमा सीतारामको स्वयंवर राजकीय स्वरुपमा हुन्छ।

राममन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट माता सीताको डोलालाई सयौं श्रद्धालुहरूको साथमा मैदान लगिन्छ र सीताको डोलाले रामको डोलालाई चारफेर घुमेर परिक्रमा गरेपछि माला लगाएर स्वयंवर सम्पन्न हुन्छ।  स्वयंवर विधि सम्पन्न भएपछि दुवै डोला मन्दिर फर्किन्छन्। भगवान राम र सीताको प्रतिमालाई विधिवत रुपमा विवाह गराइन्छ।

सुरक्षा व्यवस्था कडा
महोत्सवलाई ध्यानमा राख्दै जनकपुर नगर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले भिडभाडलाई नियन्त्रण गर्न पोख्त बन्दोबस्त गरेका छन्।
भिडभाडमा हुन सक्ने उच्छृंखल गतिविधिलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुुषाले महँगा गरगहना लगाई महोत्सवमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

भीडभाडमा चोरी हुने सम्भावना बढी हुने गरेकाले महँगा गरगहना, मोबाइल वा बहुमूल्य वस्तु लिएर भिडभाडमा सहभागी नहुन सबैलाई आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। मेलालाई व्यवस्थित गर्न लागि करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।  महोत्सवमा जनकपुरका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका