काभ्रेपलाञ्चोक, ३१ असारः विपी राजमार्गका तीन स्थानमा पहिरो र लेदोका कारण सडक अवरुद्ध भएको छ। गएरातिदेखि बन्द भएको सडक आज बिहानदेखि खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जानकारी दिएको छ।
कार्यालयका अनुसार, काभ्रेको रोशी गाउँपालिका–११ स्थित माम्तीमा भेलबाढीले कटान गरी सडक अवरुद्ध बनाएको हो। त्यसैगरी, रोशी–९ मा रहेको खहरे खोलाको लेदोले पनि गएराति सडक अबरुद्ध बनाएको थियो।
यसै क्षेत्रको बिरुवाडाँडामा पनि खहरे खोलाको लेदोले सडक थुनिएको सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ।
यही असार २५ गते पनि बिरुवाडाँडामा यस्तै समस्या देखिएको थियो। यसअघि आइतबार साँझदेखि वर्षासँगै लेदो झरेपछि राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो। तर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुबैतर्फ यातायात सञ्चालनमा ल्याइएको थियो।
विपी राजमार्गअन्तर्गत रोशीकै पिन्थलीमा पनि पटकपटक सडक अवरुद्ध हुने घटना दोहोरिँदै आएको छ। यसअघि पनि असार १६, २५ र २६ गते पिन्थलीमा सडक बन्द भएको थियो।


