काठमाडौं— नेपाली साहित्य र राष्ट्रिय योगदानको कदर स्वरूप स्थापना गरिएको विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ अन्तर्गत चारजना स्रष्टा एवं सांस्कृतिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टाहरू नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला) र भुवन ढुङ्गाना कोइरालालाई जनही रु. १ लाख राशी सहित पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कार वितरण संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको आयोजनामा गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालका राजनीतिक र साहित्यिक परिवर्तनमा बिपी कोइरालाको योगदान अमूल्य रहेको भन्दै उहाँको नाममा स्थापना गरिएको यो पुरस्कार देशका लागि जोखिम मोलेका अग्रज पुस्ताका सम्मानस्वरूप भएको बताए।
प्रधानमन्त्री ओलीले भने,
“आज कुनै कुरा मन नपरे अधिनायकवादी भनेर आरोप लगाइन्छ, तर अधिनायकवाद के हो भन्ने विपीहरू र हामीले जेल, हत्कडी र कालकोठरीमा भोगेका छौं। अहिलेको लोकतन्त्र सजिलो भएको छ। अघिल्लो पुस्ताले देखाएको बाटो आज पनि प्रेरणादायी छ।”
उनले राजनीतिक परिवर्तनमा काँग्रेस र कम्युनिष्टले मिलेर संघर्ष गरेको उल्लेख गर्दै, विपी कोइराला र पुष्पलालहरू अब कुनै दल विशेषका होइनन्, देशकै साझा नेता हुन् भने।
नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको यो पुरस्कार २०७८ सालदेखि कार्यान्वयनमा आएको हो। राजनीति र साहित्यमा विपी कोइरालाको योगदानलाई स्मरणीय बनाइराख्ने उद्देश्यसहित यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।


