वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोकसँगै रहेको बिपी उद्यानमा अतिक्रमण गरी बनाइएका अस्थायी घर–टहरा हटाउन सुरु गरेको छ। महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर पनि घर–टहरा, तरकारी र फलफूलका बजार हटाउन निर्देशन दिएको थियो। तर, अटेरी भएपछि आइतबारदेखि डोजर प्रयोग गरी स्थान खाली गराउन सुरु गरिएको हो।
महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले सार्वजनिक सूचना दिएर पटक–पटक चेतावनी दिँदा पनि नहटेकाले करिब ४० अस्थायी घर–टहरा हटाएको बताउनुभयो। ‘‘हामीले अतिक्रमण हटाउने अभियान सुरु गरेका छौँ, र यो सबै अतिक्रमणमा परेको ठाउँ खाली नभएसम्म रोकिँदैन,’’ उहाँले भन्नुभयो।
महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घर–टहरा, तरकारी र फलफूल बजार, कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब २५० अस्थायी संरचना सञ्चालनमा थिए। नगर प्रहरी प्रमुख भुसालका अनुसार बिपी उद्यान खाली गराउन उपयुक्त विकल्प प्रदान गरिएको छ।
‘‘तरकारी र फलफूल व्यापार गर्दै आइरहेकालाई वडा नं १६ नगरवास्थित कृषि बजारमा स्थानान्तरण गर्ने व्यवस्था गरेका छौँ,’’ उहाँले बताउनुभयो। ‘‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्जका स्थानीय हुन् भने केही भारतीय नागरिकले पनि पसल सञ्चालन गरेका छन्।’’ नगर प्रमुख भुसालले अतिक्रमण हटाएर बिपी उद्यानलाई आकर्षक पार्कका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।
बिपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आएका ओकेबहादुर शाहीले आफूलाई हटाएर महानगरले बिचल्ली बनाएको गुनासो गर्नुभयो। ‘‘दैनिक पाँच–दश किलो बङ्गुरको मासु बेचेर परिवार पाल्दै आइरहेका थियौँ। अहिले हटाएपछि अब के गर्ने भन्ने अन्योल छ,’’ उहाँले भन्नुभयो।
उहाँले महानगरले अन्य व्यापारीलाई पनि समान रूपमा हटाउनुपर्ने माग गर्नुभयो। ‘‘हामीलाई हटाए, तर कपडा पसल र तरकारी–फलफूल व्यापारीलाई भने नहटाउने हो कि भन्ने आशङ्का छ,’’ उहाँले भन्नुभयो।
महानगरले मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरी बिपी उद्यान खाली गर्न निर्देशन दिएको थियो। सो म्याद पुस १० मा सकिएपछि दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर सूचना जारी गरिएको थियो। तर, दोस्रो पटकको म्याद सकिएपछि आइतबार एक्साभेटर प्रयोग गरी अतिक्रमण हटाइएको हो।
महानगरले बिपी उद्यानलाई व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको जनाएको छ।