Saturday, November 7, 2026
Homeसामाचारविपिन जोशी सबैको मनमा रहिरहने छन्: प्रधानमन्त्री कार्की

विपिन जोशी सबैको मनमा रहिरहने छन्: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा निधन भएका नेपाली विद्यार्थी विपिन जोशी सबैको हृदयमा सधैं जीवित रहने बताएकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री कार्कीले भनिन्, “जोशीले आफ्नो देशको नाम मात्र होइन, इजरायली जनता र सरकारको सम्मान पनि कमाए । त्यसैले उहाँलाई एक साहसी र वीर युवा भन्नुपर्छ । यस्तो छोरा जन्माउने आमा र उनको खोजीमा अथक संघर्ष गर्ने बहिनी दुवैप्रति म गहिरो सम्मान व्यक्त गर्न चाहन्छु।”

जोशीको पार्थिव शरीर नेपाल आइपुगेपछि प्रधानमन्त्री कार्कीले विगत दुई वर्षदेखि उहाँको खोजीमा रहँदै आएका तीन करोड नेपालीका आँखा रसाएको उल्लेख गरिन्। उनले भनिन्, “हामी सबैलाई विश्वास थियो — विपिन फर्किएर आउनेछन्, यही विमानस्थलमा उहाँलाई भव्य स्वागत गर्नेछौँ भन्ने सपना थियो, तर त्यो सपना अधुरो रह्यो।”

उनका अनुसार, विपिनले चाहेको भए आफूलाई जोगाउन सक्थे, तर साथीहरूलाई बचाउने क्रममा अपहरणमा परे। “अपहरणको शिकार हुँदा उनले कति दुःख सहनु पर्‍यो होला, कसरी ज्यान गुमाउनुभयो होला, त्यो सोच्दा पनि हृदय विचलित हुन्छ,” उनले भावुक हुँदै भनिन्।

विपिन जोशीलाई सबै नेपालीको छोरा बताउँदै प्रधानमन्त्री कार्कीले उहाँको साहस, वीरता र मानवताप्रतिको समर्पण कहिल्यै नबिर्सिने बताइन्। “विपिन कहिल्यै अस्ताउने छैनन्; उहाँ सबै नेपालीको गर्व भएर सधैं बाँचिरहने छन्,” प्रधानमन्त्री कार्कीले भनिन्।

इजरायलमा निधन भएका स्व. जोशीको पार्थिव शरीर आज अपराह्न काठमाडौं ल्याइयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका