काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायली सरकारसँग पहल गर्न आग्रह गरेकी छन्।
आज परराष्ट्र मन्त्रालयमा इजरायली राजदूत समुलिक एरी बाससँगको शिष्टाचार भेटका क्रममा मन्त्री डा. राणाले विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट उनको रिहाइ सुनिश्चित गर्न इजरायल सरकारको सक्रियता आवश्यक रहेको बताइन्।
हमास समूहले अपहरण गरेका मध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आएको उल्लेख गर्दै मन्त्री राणाले विपिनको रिहाइलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरिन्।
सो भेटमा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकाको रिहाइका लागि इजरायल सरकारले हमासलाई केही समयअघि सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई मुक्त गर्ने तयारी भइरहेको जानकारी गराए।
सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी हमासले इजरायली भूमिमा आक्रमण गर्दा १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या भएको थियो। त्यसक्रममा विपिन जोशीसहित केही व्यक्तिलाई अपहरण गरिएको थियो।
हमासले पहिलो चरणमा महिला, बालबालिका र वृद्धवृद्धालाई मुक्त गर्न लागेको समाचार आएपछि नेपाल सरकारले विपिनको रिहाइका लागि विशेष आग्रह गरेको हो।
नेपालले विपिनको रिहाइका लागि कूटनीतिक प्रयास जारी राखेको छ। परराष्ट्रमन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मञ्चहरू, र विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग माग्दै आएकी छन्।