Friday, July 3, 2026
Homeसामाचारविपद् जोखिम न्यूनीकरण र पूर्वानुमानमा आधारित प्रतिकार्यका लागि कार्यशाला गोष्ठी सम्पन्न

विपद् जोखिम न्यूनीकरण र पूर्वानुमानमा आधारित प्रतिकार्यका लागि कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं: नेपालमा विपद् जोखिम न्यूनीकरण र समयमै वित्तीय प्रतिकार्य सुनिश्चित गर्न रणनीतिक योजना निर्माण गर्ने उद्देश्यले स्टार्ट नेटवर्क नेपालले तीन दिने कार्यशाला सम्पन्न गरेको छ।

‘स्टार्ट रेडी’ कार्यक्रमअन्तर्गत सम्पन्न उक्त कार्यशालामा स्टार्ट नेटवर्क नेपालका सदस्य संस्थाहरूका ३६ जना प्रतिनिधिको सहभागिता थियो। कार्यशालामा नेपालको सन्दर्भमा विपद् जोखिम वित्तीयकरणका प्राथमिकता, रणनीतिक मार्गचित्र र परिवर्तनको सिद्धान्तको प्रारम्भिक मस्यौदा तयार गरिएको साझेदारी विज्ञ सम्झना घिमिरेले जानकारी दिइन्।

कार्यशालाको पहिलो दिन पूर्वानुमानमा आधारित कार्यको अवधारणा, जलवायुजन्य जोखिम (जस्तै बाढी, पहिरो, शीतलहर, तातो हावा र खडेरी) तथा विपद् व्यवस्थापन चक्रबारे गहन छलफल गरिएको थियो। साथै, तयारीका लागि आवश्यक संरचना र पूर्वतयारी योजनाको प्रारूप प्रस्तुत गरिएको थियो।

दोस्रो दिन जोखिम विश्लेषण, वित्तीय प्रवाह तथा वित्तीय खाडलको विश्लेषण, सरोकारवाला नक्सांकन र प्राथमिकता निर्धारणमा सहभागीहरूलाई सक्रिय गराइएको थियो।

तेस्रो दिन रणनीतिक तथा दीर्घकालीन कार्ययोजना निर्माण, कार्यसञ्चालन संरचना र परिवर्तन सिद्धान्तको अभ्यास गरिएको थियो।

कार्यशालामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरू एला जेरी, एनिस्थेसिया निकोसा, सेरेना सुन, सिसल अधिकारी, प्रणव दाहाल, सम्झना घिमिरे र राजु प्रसाद आचार्यले सहजीकरण गरेका थिए। उनीहरूले सहभागीहरूको नेतृत्व क्षमता विकासमा विशेष ध्यान दिएका थिए।

बेलायतको परराष्ट्र, राष्ट्रमण्डल तथा विकास कार्यालयको सहयोगमा सन् २०२१ देखि सञ्चालित स्टार्ट फन्ड नेपालमार्फत स्टार्ट नेटवर्क नेपालले बाढी, पहिरो, भूकम्पलगायत साना तथा मध्यमस्तरका संकटमा छिटो र प्रभावकारी प्रतिकार्य गर्दै आएको छ।

कार्यशालाबाट विकसित रणनीति र कार्ययोजनाहरूले नेपालको विपद् वित्तीयकरण प्रणालीलाई संस्थागत गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। स्टार्ट नेटवर्क नेपालका राष्ट्रिय प्रवन्धक सिसल अधिकारीले यस कार्यशालालाई नेपालमा पूर्वतयारी र सशक्त प्रतिकार्यको दिशामा एक महत्वपूर्ण पहलका रूपमा व्याख्या गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका