काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेपलाञ्चोकमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् ।
कोशी प्रदेशमा पूर्ण अवरोध
संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
भोटेखोला गाउँपालिका क्षेत्रमा पर्ने बरुण खोलामा २०८२ जेठ ६ गतेदेखि निरन्तर वर्षाले राजमार्ग पूर्ण रूपमा बन्द छ ।
त्यसैगरी, मकालु गाउँपालिका–३ एकुवामा पनि २०८२ भदौ १५ देखि सडक सञ्चालन हुन सकेको छैन । वर्षा नरोकिएसम्म यातायात सुचारु हुन नसक्ने स्थानीय प्रशासनले जनाएको छ ।
बागमती प्रदेशमा जोखिम बढ्दो
रसुवा जिल्लामा चीनसँगको सीमाना जोड्ने पुलमा असार २४ देखि बाढीका कारण आवागमन ठप्प छ ।
गोसाइकुण्ड गाउँपालिका–२ का तीन स्थानमा गएको पहिरोले सडक पूर्ण रूपमा बन्द गरेको छ ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा पनि पहिरोका कारण राजमार्गहरू अवरुद्ध भएका छन् ।
भोटेकोशी गाउँपालिका–४ चारकिलोमा असोज १६ गते बिहान ८ः१५ बजे गएको पहिरोपछि सडक आवागमन बन्द भएको हो ।
धुलिखेलदेखि दोलालघाटसम्म बि.पी. राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फका सवारीसाधनहरू अनिश्चितकालका लागि रोकिएका छन् ।
काठमाडौंबाट बाहिरिने मार्ग होल्ड
काठमाडौं चन्द्रागिरि नगरपालिका हुँदै धादिङ र मकवानपुरतर्फ जाने पृथ्वी लोकमार्ग तथा अरनिको राजमार्गमा समेत अहिले सवारीसाधन रोकिएका छन् ।
नागढुङ्गा, गोदाम र टखेल मार्ग हुँदै बाहिरिने सबै सवारीसाधनहरू अर्को आदेश नआएसम्मका लागि होल्ड गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न तथा वैकल्पिक मार्ग र जानकारीका लागि स्थानीय प्रशासन वा ट्राफिक कार्यालयसँग सम्पर्कमा रहन आग्रह गरेको छ ।


