वर्तमान राजनीतिक परिस्थितिबारे विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी रहेको हो ।
उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित रिटमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बुझिएको छ । प्रचण्ड र देउवाबीच आज मध्यान्हबाट छलफल जारी थियो ।
देउवाले नेपाललाई पनि छलफलका लागि बोलाएपछि नेपाल पनि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास पुगेको स्रोतले बतायो । आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता निर्णय लिएका नेपाल देउवाको आशंका मेटाउन बूढानीलकण्ठ पुगेको पाइएको छ । आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् ।