काठमाडौँ, २५ भदौ– नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितमा एकताबद्ध रहन आह्वान गरेको छ।
मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा सोमबार ‘जेन–जी’ को आह्वानमा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका दुःखद घटनाप्रति प्रहरी संगठन मर्माहत भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूले राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनीकरणका लागि जिम्मेवारीबोधका साथ मुलुकप्रति समर्पित हुन आवश्यक छ।”
प्रहरी महानिरीक्षकको सचिवालयमार्फत जारी उक्त विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूरणीय एवं दुःखद रहेको उल्लेख गर्दै त्यसबाट उत्पन्न परिणामलाई नियन्त्रणमा लिन प्रहरी र नागरिकबीच साझेदारीपूर्ण सहकार्य अपरिहार्य भएको जनाइएको छ। साथै, आन्दोलनमा घाइते भएकाहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण तथा कुनै पनि आपराधिक समूहबाट हुन सक्ने क्षति रोक्न संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
प्रहरीले सार्वजनिक शान्ति–अमन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गरी कानुन कार्यान्वयनमार्फत विधिको शासन स्थापित गर्ने कार्यमा सबैको सक्रिय साथ–सहयोग आवश्यक रहेको स्पष्ट गरेको छ।


