काठमाडौं। नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ प्राप्त गरेको छ।
इक्रा नेपाल लि.ले प्राधिकरणलाई ‘इक्रा एनपी डबल ए प्लस’ रेटिङ प्रदान गरेको छ, जसले गर्दा प्राधिकरणले लगातार तेस्रोपटक यो उपाधि प्राप्त गरेको हो।
प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, वित्तीय जोखिम, व्यवस्थापकीय क्षमता, तथा सञ्चालन प्रभावकारिताका आधारमा मूल्याङ्कन गरी यो रेटिङ प्रदान गरिएको हो।
डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाहरूले आफ्ना वित्तीय तथा आर्थिक दायित्वहरू समयमै बहन गर्न सक्ने उच्च क्षमता राख्दछन्। यस्तो रेटिङ पाउने संस्थासँग ऋण भुक्तानी जोखिम न्यून रहन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षदेखि निरन्तर यो स्तरको रेटिङ प्राप्त गर्नु प्राधिकरणको वित्तीय सुदृढताको संकेत भएको बताए। उनले सेयर निश्कासनका लागि संस्थाको रेटिङ महत्वपूर्ण रहेको र सरकारबाट स्वीकृति पाउनासाथ प्रक्रिया अघि बढ्ने उल्लेख गरे। संकलित रकम ठूला जलविद्युत् आयोजनामा लगानी गरिनेछ।
प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरिएको छ। सेयर निश्कासनका लागि प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब ३ सय रुपैयाँ प्रस्ताव गरिएको छ। वार्षिक आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँ रहेको प्राधिकरणको सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढी छ।
प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो, जसले विद्युत् उत्पादन, प्रसारण, वितरण तथा सीमापार व्यापार गर्दछ। सरकार वार्षिक बजेट विनियोजन, सेयर लगानी, तथा अन्य वित्तीय सहयोगमार्फत् प्राधिकरणमा लगानी गर्दै आएको छ।
प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्तासँग करिब ११ हजार मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ। हालसम्म प्राधिकरणले वित्तीय खर्च घटाउने, राजस्व वृद्धि गर्ने, तथा प्रसारण र वितरण प्रणाली सुधार गर्ने कार्यमा सफलता प्राप्त गरेको छ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा रहेको प्राधिकरणले २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो। गत आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरण हाल ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।
प्राधिकरणले प्रणालीको विद्युत् चुहावट २०७२/७३ मा २५.७८ प्रतिशत रहेकोमा हाल १२.७३ प्रतिशतमा झारेको छ।