काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
स्वीस विकास तथा सहयोग संस्था (SDC) को सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क (MiRiDeW)’ परियोजनाको दोस्रो चरण कार्यान्वयनका लागि मंगलबार एनआरएनए सचिवालयमा भएको कार्यक्रममा आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनए अध्यक्ष डा. बद्री केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार परियोजनाले मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकहरूमा श्रमिकका समस्या समाधानमा ध्यान दिनेछ। यस अन्तर्गत एनआरएनएको संस्थागत क्षमता अभिवृद्धि, नेपाल सरकारसँग नीतिगत वकालत, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, महिला र अवैधानिक श्रमिकलाई कानुनी परामर्श, सचेतना अभिवृद्धि र कूटनीतिक मिशनहरूसँग समन्वयलाई प्राथमिकतामा राखिनेछ।
आईएलओ नेपालका निर्देशक ओजकानले एनआरएनएलाई रणनीतिक साझेदारका रूपमा लिइएको बताउँदै भने, “नेपाली श्रमिकहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड हुन्। तर उनीहरूले विदेशमा असुरक्षित कार्यस्थिति, कानुनी सुरक्षाको अभाव र एक्लोपनको सामना गर्नुपरेको छ। यस सहकार्यले श्रमिकको सुरक्षा र अधिकारसहितको मर्यादित रोजगारी सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।”
एनआरएनए अध्यक्ष डा. बद्री केसीले संघले विगत दुई दशकदेखि ९० भन्दा बढी देशमा आप्रवासी नेपालीको हकहितका लागि काम गर्दै आएको उल्लेख गर्दै भने, “यो साझेदारी विदेशमा रहेका श्रमिकहरूको समस्या समाधान गर्ने सुनौलो अवसर हो, जसलाई पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गरिनेछ।”
त्यस्तै, एनआरएनए महिला उपाध्यक्ष रोजिना प्रधान राईले श्रम बजारमा रहेका युवा, महिला तथा पछाडि पारिएका श्रमिकहरूको अवसर र चुनौतीबारे विचार प्रस्तुत गर्दै परियोजनालाई समयानुकूल महत्त्वपूर्ण पहलका रूपमा स्वागत गरिन्।
यसअघि कोभिड–१९ महामारीको समयमा पनि दुवै संस्थाले हजारौं श्रमिकलाई सहयोग पुर्याएको अनुभवलाई यस सहकार्यको आधार बनाइएको हो। नौ महिनासम्म सञ्चालन हुने यो साझेदारी सेप्टेम्बर २०२५ देखि मे २०२६ सम्म लागू हुनेछ।
कार्यक्रममा आईएलओ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक रोनी प्रधान धौभडेल, संचार अधिकृत निष्ठा रायमाझी, एनआरएनएकै सल्लाहकारहरू अतुल कोईराला र हिराधन राई, अभियन्ता बाबा राजेश्वरी थापा, रोविन बज्राचार्य, एनआरएन डेभलपमेन्ट फण्डका सिईओ अनलराज भट्टराई, सचिवालयका सिईओ राजेन्द्र कुमार राउतसहित अन्य प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रमको सञ्चालन राजेन्द्र कुमार राउतले गरेका थिए।


