लण्डन। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको समृद्धि र विकासमा विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभव महत्वपूर्ण हुने बताएका छन्। उनले प्रवासमा रहेका नेपाली विज्ञहरूलाई प्रभावकारी रूपमा नेपालको विकासमा परिचालन गर्न सके देश छिट्टै समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।
शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै राष्ट्रपतिले विदेशमा रहेका नेपालीहरूको क्षमता राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
भेटका क्रममा डा. रेग्मीले गैरआवासीय नेपाली संघको आयोजनामा आगामी वर्ष काठमाडौंमा हुने ‘विश्व विज्ञ सम्मेलन’ को तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। उनले नेपाल सरकारसँग सहकार्य गर्दै सम्मेलन सफल बनाउन र प्रवासी नेपालीहरूको ज्ञान तथा अनुभवलाई देशको विकासमा उपयोग गर्न संघ प्रतिबद्ध रहेको बताए।
छलफलका क्रममा डा. रेग्मीले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा वंशजको नागरिकताको निरन्तरता सम्बन्धी विषयमा सरकारसँग संवाद भइरहेको जानकारी पनि गराए।
राष्ट्रपति पौडेलले आफ्नो संवैधानिक अधिकारको दायराभित्र रहेर विदेशमा रहेका नेपालीहरूको हित र आवश्यकताका विषयमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा संघका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपालीसम्बन्धी संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन अझै व्यवहारमा आउन नसकेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए। उनले त्यसका कारण गैरआवासीय नेपालीहरूले विभिन्न प्रशासनिक तथा कानुनी जटिलता भोग्नुपरेको उल्लेख गरे।
यसअघि उक्त प्रतिनिधिमण्डलले कानून, परराष्ट्र, सञ्चार तथा अर्थमन्त्रीहरूसँग पनि भेट गरी आगामी विश्व विज्ञ सम्मेलनको तयारी तथा गैरआवासीय नेपालीसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको जनाएको छ।


