काठमाडौँ । सर्वोच्च अदालत ले नेपालमा विचाराधीन मुद्दामा विदेशबाटै अनलाइनमार्फत बयान र वकपत्र गर्न सकिने महत्वपूर्ण आदेश दिएको छ।
न्यायाधीश हरि फुयाल र बालकृष्ण ढकाल को संयुक्त इजलासले सूचना प्रविधिको विकासले भौगोलिक दूरीलाई सीमित बनाइरहेको अवस्थामा न्याय सम्पादनलाई सहज बनाउन यस्तो व्यवस्था आवश्यक रहेको ठहर गरेको हो।
अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भएर नेपालमा चलिरहेका मुद्दामा अनलाइनमार्फत बयान र वकपत्र गर्ने सुविधा उपलब्ध गराउनुपर्ने आदेश दिएको छ।
यसअघि विशेष अदालत मा विचाराधीन एक भ्रष्टाचार मुद्दामा अध्यक्ष टेकनारायण कुँवर ले विदेशबाट अनलाइन बयान र वकपत्र गर्न अनुमति दिन सकिने राय दिएका थिए। तर सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा ले यस्तो अनुमति दिन नमिल्ने राय राखेका थिए।
विशेष अदालतको उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर भएपछि सर्वोच्चले विदेशबाट अनलाइन माध्यमद्वारा बयान र वकपत्र गर्न सकिने स्पष्ट आदेश दिएको हो।