पोखरा : १८औं एसियाली खेलकुद (एसियाड) मा २० वर्षपछि नेपाललाई रजत पदक दिलाएका प्याराग्लाइडिङ खेलाडीले अभ्यासका लागि आकाश नपाएको गुनासो गरेका छन्। इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जितेका खेलाडीले प्रशिक्षणका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाएको बताएका हुन्।
सविता राजभण्डारीले बैंकक एसियाली खेलकुदमा तेक्वान्दोबाट नेपाललाई पहिलो पटक रजत पदक दिलाएको २० वर्षपछि प्याराग्लाइडिङमा नेपालले ऐतिहासिक रजत पदक जितेको थियो। नेपाललाई विमल अधिकारी, विशाल थापा, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले ऐतिहासिक पदक दिलाएका थिए। उनीहरूले पुरुष टिम क्रसकन्ट्री इभेन्ट्समा रजत पदक जितेका थिए। योगेश भट्टराईले प्रमुख प्रशिक्षक र सानोबाबु सुनुवार सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
रजत पदक विजेता टोलीका कान्छा खेलाडी युकेश गुरुङ त्यही इतिहास दोहोर्याउने गरी अभ्यास गरिरहे पनि कोभिड–१९ का कारण अभ्यास गर्न समस्या भएको उनले बताए। ‘पहिलो लकडाउन खुकुलो भएपछि दोस्रो लकडाउन नहुँदासम्म प्याराग्लाइडिङको अभ्यास गरिरहेको थिएँ। दोस्रो लकडाउन खुलेर अन्य गतिविधि सामान्य बन्दै गए पनि प्याराग्लाइडिङको अभ्यास गर्न रोक लगाइँदा हामीले प्रशिक्षण गर्न पाएनौं’, उनले भने।
नेपाली टोलीका अर्का सदस्य विजय गौतमले प्रशिक्षणका लागि सराङकोटमा जाँदा सुरक्षाकर्मीले रोक्ने गरेको बताए। ‘आकाशमा यात्रु लिएर जहाज उडिरहेका छन्। सडकमा सार्वजनिक साधन पनि भरिभराउ यात्रु लिएर गुडेका छन्’, उनी भन्छन्, ‘तर, आकाशमा एक्लै उडेर प्रशिक्षण गर्दा पनि प्रशासनले रोकेकोमा चित्त दुखेको छ।’
प्याराग्लाइडिङ खेलमा सोलो (एकल उडान) र टेन्डम (ब्यवसायिक रुपमा यात्रु लिएर) उड्ने गरिन्छ। ब्यवसायिक उडान रोके पनि एक्लै आकाशमा उडेर नियमित प्रशिक्षण गर्न प्रशासनले रोक लगाउन नहुने उनी बताउँछन्। प्याराग्लाइडिङ खेलाडीहरूले आफ्नै मेहनत र आफ्नै खर्चमा किनेको प्याराबाट उडेर रजत पदक जितेका थिए। अहिले पनि सरकारले प्याराग्लाइडिङ खेलका लागि प्रशिक्षकलगायत कुनै पनि सहयोग नगरेको उनीहरू बताउँछन्।
नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक योगेश भट्टराईले एक्लै प्रशिक्षण लिन खोज्दा प्रशासनले रोक्न नहुने बताउँछन्। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले लामो समय प्याराग्लाइडिङको उडान नहुँदा थन्किएर रहेका महंगा प्यारा नै कुहिने र मक्किने अवस्था आएको उनले बताए। उनले ब्यावसायिक उडानभन्दा पनि पहिलो चरणमा एकल उडानका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागे पनि नदिएको बताए। एक्लै उडान भरेर अभ्यास गर्ने प्याराग्लाइडिङ खेलाडीले पनि उडान अनुमति नपाएको भण्डारीले पुष्टि गरे। पोखरामा प्याराग्लाइडिङ क्षेत्रमा ६० कम्पनीका एक अर्ब बढी लगानी रहेको भण्डारी बताउँछन्। ‘यहाँ ३५० ब्यवसायिक प्यारापाइलटले रोजगारी पाएका छन्। सामान्य अवस्थामा तीन सय ५० पाइलट ब्यस्थ रहन्छन्’, उनले भने, ‘यहाँ १५० पाइलट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने गर्दछन्।’
अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न प्याराग्लाइडिङ खेलाडीको सिभिल र्याङकिङ हुन्छ। त्यस्तो र्याङकिङ व्यक्तिगत र देशको छुट्टाछुट्टै हुने खेलाडी विजय गौतम बताउँछन्। कोरोनाका कारण स्विट्जरल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नपाएको उनले बताए। युरोपका विभिन्न देशमा राष्ट्रिय तथा अन्तर्राष्टिय प्याराग्लाइडिङका प्रतिस्पर्धा भइरहे पनि नेपाली प्यारापाइलटले प्रशिक्षण लिन पनि नपाएको उनले बताए। प्याराग्लाइडिङको एकल उडान रोकिए पनि पोखरा रंगशालामा साउन २६ गतेदेखि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भने चलिरहेको छ। सुरुमा ३८ खेलाडीले प्रशिक्षण लिएरहेकोमा पछिल्लो समयमा २८ खेलाडीले प्रशिक्षण गरिरहेको क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए।
यसैगरी पोखरा रंगशालामा हक्की, आर्चरी, टेनिस, क्रिकेटलगायतका खेलको नियमित प्रशिक्षण भइरहेको पनि क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगीले बताए। फुटबल टोलीको प्रशिक्षण अघि काठमाडौंमै पीसीआर परीक्षण गरिएको जानकारी दिए।
पछिल्लो समयमा कास्कीमा कोरोना संक्रमण बढेकाले प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्याराग्लाइडिङ खेलाडीले प्रशिक्षण गर्न नपाएको विषयमा थप बुझेर निर्णय गरिने बताए। अन्नपूर्णबाट


