काठमाडौं: गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारसम्बन्धी विवाद वार्ता र सहमतिमार्फत समाधान गर्न जोड दिनुभएको छ।
सोमबार साँझ गृह मन्त्रालयमा आन्दोलनरत पक्षका वार्ता टोली र सरोकारवालासँगको भेटमा उहाँले आपसी सहमति नै समस्याको एकमात्र समाधान भएको भन्दै सबै पक्षलाई गम्भीर भएर प्रस्तुत हुन आग्रह गर्नुभयो।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षबीचको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि सोमबार गृहमन्त्रीसँग थप छलफल गरिएको थियो।
भेटमा नेकपा (एमाले) का नेता योगेश भट्टराईसहित आदिवासी जनजातिका नेताहरूको उपस्थिति थियो।
गृहमन्त्री लेखकले शान्तिपूर्ण तरिकाले विवाद समाधान गर्न आग्रह गर्दै सरकार पनि यस विषयमा गम्भीर रहेको बताउनुभयो। छलफलका क्रममा आन्दोलनरत पक्षले उच्चस्तरीय वार्ता टोली गठनको माग गरेको वार्ता टोलीका सदस्य तिवारीले जानकारी दिनुभयो।


