काठमाडौँ – पश्चिमी वायु र अरब सागरबाट विकसित मौसमी प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला बङ्गालको खाडीमा विकसित मन्था चक्रवातको प्रभाव देखिन लागेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूलाई सतर्क रहन सात बुँदे अनुरोध सार्वजनिक गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले उक्त चक्रवातका कारण कोशी, बागमती र मधेश प्रदेशमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको विशेष बुलेटिन जारी गरेपछि प्राधिकरणले सो अनुरोध गरेको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त प्रणालीको असर रहुञ्जेल अत्यावश्यक बाहेकका यात्राबाट टाढा रहन, न्यानो भएर बस्न, र नियमित मौसमी जानकारी लिएरमात्र आवश्यक कार्य गर्न अनुरोध गरिएको छ ।
प्राधिकरणको सात बुँदे अनुरोधः
अत्यावश्यक नभएसम्म यात्रा नगर्ने ।
डुबान हुनसक्ने बस्तीका बासिन्दाले अग्ला र सुरक्षित स्थान पहिचान गर्ने र अरुलाई पनि जानकारी दिने । आवश्यक परे सुरक्षित स्थानमा सर्ने ।
नदी किनारका बासिन्दा उच्च सतर्कता अपनाउने र जोखिम देखिए सुरक्षित स्थानमा जाने ।
धान तथा अन्य बाली अझै नकटेको भए काट्ने कार्य रोक्ने, काटिसकेको भए तत्काल भित्र्याउने ।
प्रभावित जिल्लाका विपद् व्यवस्थापन समिति र सुरक्षा निकायहरूले आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गर्ने, र सोको पालना गर्ने ।
तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा
रहने ।
साझेदार संस्थाहरू जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोगी भूमिका निभाउने ।
सम्भावित प्रभावित क्षेत्रहरूः
कोशी प्रदेश — सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी ।
मधेश प्रदेश — बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी ।
बागमती प्रदेश — काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली ।
उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदीसहित ती नदीका सहायक खोलानालाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । साथै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र भएर बहने स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावका कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुनेछ ।
यस अवधिमा मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने, साथै मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागका थोरै स्थानमा पनि हल्का वर्षा हुने सम्भावना विभागले जनाएको छ ।


