Wednesday, May 21, 2025
Homeअपराध र घटनावन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोह पक्राउ

वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोह पक्राउ

विराटनगर  : मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।  वन्यजन्तुको सिकार गर्ने क्रममा भरुवा बन्दुकले लागेर सँगै गएका साथीको मृत्यु भएपछि फरार रहेको गिरोहमा संलग्नमध्ये चारजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू रहेका छन् ।

बेलबारी प्रहरीका निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले उनीहरुलाई बुधबारसाँझ पक्राउ गरेको हो । पक्राउ परेकाहरुले विभिन्न स्थानमा लुकाएर राखेको चार नाल भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । बन्दुकले लागेर साथीको मृत्यु भएको घटनापछि उनीहरु रूख र ढुंगाको चेप तथा ओढारमा बन्दुक लुकाएर फरार भएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएपछि उनीहरुले नै दिएको बयानका आधारमा प्रहरीले चार नाल बन्दुक नियन्त्रणमा लिएको उनको भनाइ छ । राईका अनुसार वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिन केराबारी र लेटाङ क्षेत्रमा विशेष ‘सर्च अप्रेशन’ चलाइएको थियो ।

घटना अनुसार गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा मृगलाई हानेको बन्दुकले लागेर एक जनाको घटनास्थलमै मृत्यु भयो । डीएसपी राईका अनुसार सिकार खेल्न गएकामध्ये ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर केराबारी–३ का ३२ वर्षीय हस्त राईको मृत्यु भएको हो । घटना भएको भोलिपल्टै प्रहरीले सिकार खेल्न गएकामध्ये गजेन्द्र र २६ वर्षीय रुविन लिम्बूलाई पक्राउ गरेको थियो ।

गजेन्द्र र रुविनका साथबाट प्रहरीले एक नाल भरुवा बन्दुक त्यतिबेला नियन्त्रणमा लिएको थियो । ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा मुद्दा चलाउन प्रहरीले पक्राउ परेकाविरुद्ध म्याद थप गरेर घटनाको अनुसन्धान थालेपछि सिकार खेल्न गएको गिरोहका बारेमा खुलेको राईको भनाइ छ । अनुसन्धानकै क्रममा उनीहरुले दिएको बयानका आधारमा सिकार खेल्न गएकामध्ये अरु चार जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । अरु तीन जना अझैसम्म फरार रहेका कारण खोजी भइरहेको जानकारी राईले दिए ।

‘कोरोना महामारीका समयमा वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी गर्ने समूह सक्रिय रहेको पाइयो,’ उनले भने,‘सिकार खेल्न गएकामध्ये बन्दुकले लागेर एक जनाको मृत्यु भएपछि घटनाको अनुसन्धान अघि बढाउँदा गिरोहका बारेमा सबै कुरा खुलेको हो ।’ पछिल्लो पटक पक्राउ परेका चार जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान थालिएको डीएसपी राईले बताए । अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका