Sunday, November 8, 2026
Homeसामाचारवनमन्त्री शाहीको नर्वे भ्रमण: संरक्षण र शैक्षिक सहकार्यमा छलफल, अनुसन्धान केन्द्रको अवलोकन

वनमन्त्री शाहीको नर्वे भ्रमण: संरक्षण र शैक्षिक सहकार्यमा छलफल, अनुसन्धान केन्द्रको अवलोकन

काठमाडौँ, १५ साउन — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नर्वे भ्रमणका क्रममा विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी भएको छ। चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन, शैक्षिक सहकार्य, अनुसन्धान तथा दीर्घकालीन परियोजनाहरूका विषयमा महत्वपूर्ण छलफल भएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. नरेश सुवेदीका अनुसार मन्त्री शाहीको टोलीले युनिभर्सिटी अफ इन्ल्यान्ड नर्वेका प्राध्यापक मोर्टेन ओडेनको आतिथ्यतामा ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर तथा आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकन गरेको थियो। सो अवसरमा ‘आर्कटिक फक्स पुनःस्थापना कार्यक्रम’ र ‘रेनडियर पारिस्थितिकीय पद्धति’बारे नर्वेली विज्ञहरूले विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

मन्त्री शाही, जो कोषका अध्यक्ष पनि हुनुहुन्छ, ले पाँचवर्षे NORPART परियोजनाको प्रगति र उपलब्धिको समेत समीक्षा गर्नुभएको थियो। यस परियोजनामार्फत काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गर्दै नेपाली तथा नर्वेजियन विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा जोडिँदै आएको छ। हाल तीन जना नेपाली विद्यार्थी नर्वेमा विद्यावारिधी (PhD) अध्ययनमा संलग्न छन्।

भ्रमणको क्रममा मन्त्री शाहीले नर्वे सरकारको विदेश मन्त्रालय र जलवायु तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। ती भेटघाटमा भविष्यको सहकार्य, जनशक्ति विकास, र नेपालमा संरक्षण परियोजनाका लागि वित्तीय सहयोग विस्तारबारे गम्भीर छलफल भएको थियो।

त्यसैगरी, नर्वेजियन विकास सहयोग संस्था NORAD सँग दीर्घकालीन संरक्षण पहलहरूबारे पनि विस्तृत छलफल गरिएको थियो। भ्रमणबाट नेपाल–नर्वे सम्बन्ध संरक्षण, शिक्षा, र अनुसन्धानका क्षेत्रमा अझ सुदृढ हुने विश्वास गरिएको छ।

गत शुक्रबार नर्वे प्रस्थान गर्नुभएका मन्त्री शाही आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका