काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको उल्लेख गर्दै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार गठन र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित र लोकतान्त्रिक निकास भएको स्पष्ट पारेका छन् ।
शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३–२४ मा भएका हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै त्यसको मूल उद्देश्य लोकतन्त्र समाप्त पार्ने र संविधानलाई असफल बनाउने रहेको दाबी गरे ।
उनले ती घटनाले मुलुकलाई गम्भीर अस्थिरता र भूराजनीतिक जोखिमतर्फ धकेल्ने षड्यन्त्र गरिएको बताए । ‘भदौ २३ र २४ गतेका त्रासदीपूर्ण घटनापछि मुलुक असामान्य अवस्थामा धकेलियो,’ उनले भने, ‘शान्तिपूर्ण मागसहित सडकमा उत्रिएका नवयुवाको आन्दोलनमा घुसपैठ गराएर त्यसलाई योजनाबद्ध रूपमा हिंसात्मक मुठभेडमा परिणत गरियो, जसबाट १९ जना युवाको ज्यान गयो । भोलिपल्ट त्यसैलाई बहाना बनाएर मुलुकलाई खरानीको थुप्रोमा बदल्ने आपराधिक गतिविधि भयो, जुन नेपालको इतिहासकै अत्यन्तै दुःखद घटना हो ।’
अध्यक्ष ओलीले ११औँ राष्ट्रिय महाधिवेशनले नेकपा एमाले मात्र होइन, समग्र लोकतान्त्रिक शक्तिलाई आत्मबल प्रदान गरेको बताए । महाधिवेशनले पार्टी प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्ने र लोकतन्त्रको रक्षाका लागि अग्रपङ्क्तिमा उभिन सक्षम रहेको सन्देश दिएको उनको भनाइ थियो । महाधिवेशनपछि पार्टीको आन्तरिक एकता सुदृढ भएको र नेतृत्वको वैधता पुनःस्थापित भएको उनले उल्लेख गरे ।
उनले भदौ अन्तिम सातापछिको राजनीतिक परिस्थितिमा ‘पुराना’ र ‘नयाँ’ दलको बहसभन्दा पनि विध्वंश स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने आधारमा राजनीतिक ध्रुवीकरण तीव्र भएको बताए । लोकतान्त्रिक प्रणालीमाथि आक्रमण गर्ने पपुलिष्ट र अराजक तत्वबाट जनतालाई सचेत गराउनुपर्नेमा उनले जोड दिए ।
आगामी आम निर्वाचनबारे बोल्दै अध्यक्ष ओलीले सरकारले भयरहित र निष्पक्ष वातावरण बनाउन असफल भएको आरोप लगाए । भदौ २४ का घटनासँग सम्बन्धित कैदी, लुटिएका हतियार र कमजोर बनाइएको सुरक्षा संयन्त्रको उदाहरण दिँदै उनले यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन सम्भव नरहेको बताए । यद्यपि ढिलो–चाँडो निर्वाचन हुने निश्चित भएकाले पार्टी सधैँ तयारी अवस्थामा रहनुपर्ने निर्देशन दिए ।
अन्तर्राष्ट्रिय परिस्थितिबारे अध्यक्ष ओलीले विश्व राजनीति थप अस्थिर र जोखिमपूर्ण बन्दै गएको उल्लेख गरे । नेकपा एमाले स्वतन्त्र परराष्ट्र नीति, पञ्चशील, असङ्लग्नता र अन्तर्राष्ट्रिय कानुनको पक्षमा दृढ रहेको उनले बताए । गाजा, युक्रेन, भेनेजुएला, बङ्गलादेश र म्यान्मारका घटनाप्रति चिन्ता व्यक्त गर्दै मानवअधिकार र सार्वभौमसत्ताको सम्मान हुनुपर्ने धारणा राखे ।
तराई–मधेस क्षेत्रमा देखिएका सामाजिक सद्भाव खलबलिने घटनाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले सहिष्णुता, सौहार्दता र राष्ट्रिय एकताको पक्षमा उभिन पार्टी पङ्क्ति तथा सबै सरोकारवालालाई आह्वान गरे । सम्बोधनको अन्त्यमा उनले पार्टी एकताबद्ध र सक्रिय भए मात्र प्रतिगमनलाई परास्त गर्न सकिने भन्दै सम्पूर्ण ऊर्जा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षामा केन्द्रित गर्न आग्रह गरे ।


