Friday, June 26, 2026
Homeसामाचारलागूऔषधको ‘सप्लाई चेन’ तोड्न गृहमन्त्रीको निर्देशन

लागूऔषधको ‘सप्लाई चेन’ तोड्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागूऔषधको अवैध ओसारपसार र दुर्व्यसन नियन्त्रणका लागि औपचारिक कार्यक्रमभन्दा अघि बढेर यसको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै तोड्ने गरी आक्रामक रणनीति अपनाइने बताएका छन्।

अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवस (जुन २६) का अवसरमा जारी सन्देशमा उनले लागूऔषधको समस्या जरैदेखि अन्त्य गर्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएका हुन्।

उनले सन्देशमा भनेका छन्, ‘क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट समाजलाई जोगाउन यसको सप्लाई चेन तोड्नु अत्यावश्यक छ। त्यसका लागि प्रहरी प्रशासनलाई जरैसम्म पुगेर नियन्त्रणका प्रभावकारी कदम चाल्न निर्देशन दिइएको छ।’

गृहमन्त्रालयका अनुसार लागूऔषधको अवैध ओसारपसार सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य र अर्थतन्त्रमा गम्भीर असर पार्ने सीमा–पार सङ्गठित अपराध हो। विभिन्न अध्ययनले यसको ओसारपसार बढ्दो क्रममा रहेको देखाएकाले सरकारले यसलाई गम्भीर चुनौतीका रूपमा लिएको जनाएको छ।

मन्त्रालयले यो समस्या सरकारको प्रयासले मात्र समाधान हुन नसक्ने उल्लेख गर्दै स्थानीय समुदाय, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह तथा नागरिक समाजलाई लागूऔषध नियन्त्रण अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। साथै, युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्न सञ्चार माध्यमको भूमिका पनि महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका