Tuesday, September 15, 2026
Homeसामाचारललितपुरका सीडीओद्वारा चोभार गल्छी निरीक्षण, आसपासका बासिन्दालाई सतर्कता अपनाउन

ललितपुरका सीडीओद्वारा चोभार गल्छी निरीक्षण, आसपासका बासिन्दालाई सतर्कता अपनाउन

काठमाडौं। आगामी केही दिनसम्म अति भारी वर्षा हुने प्रक्षेपणसँगै ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण गरेको छ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मनसुनी वायुको प्रभावले व्यापक वर्षा हुने अनुमान गरेपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेसहित जिल्ला सुरक्षा समितिका प्रमुखहरूले चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका हुन्।

नख्खु र बागमती खोला चोभार गल्छी हुँदै निकास हुने भएकाले त्यस क्रममा आसपासका क्षेत्रमा पर्न सक्ने असर र जनधनको सुरक्षा सुनिश्चित गर्न निरीक्षण गरिएको प्रजिअ घिमिरेले जानकारी दिए।

उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै, तीन दिनसम्म बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म कान्ति लोकपथमा सवारी आवागमन बन्द रहने जानकारी पनि दिए।

ललितपुर प्रशासनका अनुसार जिल्लाको बागमती गाउँपालिका लगायत दक्षिणी भूभागमा बाढी तथा पहिरोको जोखिम उच्च भएकाले जोखिमयुक्त स्थानभन्दा टाढा अस्थायी बसोबासको व्यवस्था मिलाउन सम्बन्धित पालिकाहरूसँग पत्राचार गरिसकिएको छ।

प्राकृतिक विपद् न्यूनीकरणका लागि आवश्यक सबै सुरक्षा तयारी पूरा गरिएको प्रजिअ घिमिरेले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका