Monday, August 10, 2026
Homeसामाचारलगातारको वर्षाले देशभरका प्रमुख सडक अवरुद्ध, बीपी र अरनिको राजमार्गमा यातायात ठप्प

लगातारको वर्षाले देशभरका प्रमुख सडक अवरुद्ध, बीपी र अरनिको राजमार्गमा यातायात ठप्प

काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो, लेदो तथा नदी कटानका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा पहिरो खसेपछि कतिपय स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै वर्षाका कारण विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात अवरुद्ध भएको जानकारी दिएको हो।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के क्षेत्रमा बीपी राजमार्गमा बिहान करिब ४ बजे माथिबाट लेदोसहित पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

बीपी राजमार्गकै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालन गर्न नदिइने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म यातायात सञ्चालन हुने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

मकवानपुरतर्फको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडकमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्गका विभिन्न खण्ड अवरुद्ध

सिन्धुपाल्चोकमा वर्षाले सडक यातायातमा ठूलो असर पारेको छ। अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु क्षेत्रमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी, आज बिहान करिब ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खसेपछि अरनिको राजमार्गको अर्को खण्डसमेत पूर्ण रूपमा बन्द भएको छ।

नदी कटान र पहिरोले अन्य सडक पनि प्रभावित

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खसेपछि यातायात रोकिएको छ।

त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

अवरुद्ध सडकखण्डमा पहिरो तथा लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण थप पहिरो, बाढी तथा सडक कटानको जोखिम रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका