रौतहट । छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रणका लागि रौतहट प्रहरीले विशेष कार्य योजना तयार गरेको छ। जिल्लाका प्रमुख छठघाट तथा बढी भिड हुने स्थानहरूमा प्रहरी बल सशक्त रूपमा परिचालन गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार छठ पर्वका अवसरमा सम्भावित अवाञ्छित घटना रोक्न सादा पोसाकका पुरुष तथा महिला प्रहरी खटाइने छन्। भक्तजनहरूको ठूलो भीडलाई ध्यानमा राख्दै सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी पनि तैनाथ गरिने छ।
छठ पूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिसँग समन्वय गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। समितिले आफ्ना स्वयम्सेवकमार्फत पनि घाटमा सुरक्षामा सहयोग पुर्याउने व्यवस्था मिलाएको छ।
सूर्य उपासना र निष्ठासँग मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षालाई प्राथमिकता दिँदै प्रहरीले जलाशय क्षेत्रहरूमा निरन्तर निगरानी गर्ने तयारी गरेको छ। छठ अवधिभर एम्बुलेन्स र वारुण यन्त्र तयारी अवस्थामा रहने र केही प्रमुख छठघाटहरूमा सिसिटिभीमार्फत निगरानी गरिने जानकारी पनि प्रहरीले दिएको छ।


