भरतपुर:भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विश्वविख्यात कथावाचिका देवी प्रतिभालाई देवघाट महामहोत्सवको अवसरमा सम्मान गरेकी छन्। चितवनको देवघाटमा आजदेखि सुरु भएको महामहोत्सवमा कथा वाचनका लागि उपस्थित भएकी देवी प्रतिभालाई भरतपुर महानगरपालिकाले स्वागत र सम्मान गरेको हो।
महानगर प्रमुख दाहालले देवी प्रतिभालाई देशको गौरव भन्दै उनको अझ प्रगतिको कामना गरिन्। साथै, भरतपुर महानगरले जनताको चाहना अनुसार विकासका कामलाई प्राथमिकता दिएको बताउँदै भरतपुर क्षेत्रको प्रचार-प्रसारमा योगदान गर्न आग्रह गरिन्।
देवी प्रतिभाले भरतपुरको विकास देखेर आफू खुशी भएको बताउँदै मेयर दाहाललाई सधैं जनताको प्रिय बन्न शुभकामना दिइन्।
महामहोत्सवका परिकल्पनाकार ईश्वरकृष्णजी महाराजले देवी प्रतिभा र मेयर रेनु दाहाललाई युगका शक्तिशाली व्यक्तित्वका रूपमा वर्णन गर्दै देश विकासमा उनीहरूको भूमिकाको प्रशंसा गरे। देवी प्रतिभाले आगामी १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ।
महामहोत्सवका संयोजक डा. केशव भुर्तेलका अनुसार, कथा प्रवचनमा देवी प्रतिभासँगै ईश्वरकृष्ण महाराजजी, ओमप्रकाश गुरु, यशोदा कौडिन्य, र अनुराधा पाण्डेयको पनि सहभागिता रहनेछ।
महामहोत्सवको मुख्य उद्देश्य मातापिता सेवा आश्रम र देवघाट दिव्य धाम मन्दिरको निर्माण सहयोग गर्न रकम संकलन गर्नु हो। आश्रमका लागि ६ वटा भवन निर्माण भइरहेको छ, जसमा ५ तले १४१ कोठा निर्माणको अन्तिम चरणमा छन्। कुल ३६५ कोठा निर्माण गर्ने योजना रहेको आश्रमले जानकारी दिएको छ।
सडकमा अलपत्र परेका वृद्ध बाबु-आमालाई सहारा दिने उद्देश्यले मातापिता सेवा आश्रम देशकै सबैभन्दा ठूलो आश्रमका रूपमा विकास हुँदैछ।
महामहोत्सवको क्रममा माघ महिनाभर ३३ करोड दीप प्रज्वलन गर्ने र विश्वकै नमुना मन्दिरको रूपमा देवघाट दिव्य धाम मन्दिरको शिलान्यास गर्ने कार्यक्रम छ।
देवघाट महामहोत्सव माघ ३० गतेसम्म सञ्चालन हुनेछ। आचार्य बालकृष्णजी महाराजको पनि यस अवसरमा विशेष उपस्थिति रहनेछ। महामहोत्सवबाट संकलित सहयोग रकम मातापिता सेवा आश्रमको निर्माणमा खर्च गरिनेछ।