काठमाडौं। चीनको राजधानी बेइजिङमा आयोजित विजय दिवस परेडपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
वार्ताका क्रममा पुटिनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न रुसलाई सहयोग गरेको उल्लेख गरे। त्यसबारे प्रतिक्रिया दिँदै किमले रुसलाई सहयोग गर्नु उत्तर कोरियाको “भाइको रूपमा कर्तव्य” भएको बताए।
युक्रेन युद्धमा रुसी सेनालाई सहयोग गरिरहेका उत्तर कोरियाली सैनिकहरूको प्रशंसा गरेकोमा किमले पुटिनप्रति आभार प्रकट गरे। उनले सन् २०२४ को सम्झौतापछि दुई देशबीचको सहयोग अझ प्रगाढ भएको पनि बताए।
गत वर्ष दुवै देशले एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए, जसअन्तर्गत सबैभन्दा महत्त्वपूर्ण पारस्परिक सुरक्षा सम्झौता रहेको थियो। त्यसबेला किमले उक्त सन्धिलाई “अहिलेसम्मकै बलियो सन्धि” भनेर वर्णन गरेका थिए।
बैठकमा किमले रुस र उत्तर कोरियाबीच विभिन्न क्षेत्रमा सहयोगलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।


