काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसका लागि श्रम स्वीकृति खुलाउन आग्रह गरेको छ। संघका अध्यक्ष बद्री केसीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई शुक्रबार भेटी यो विषयमा पहल गर्न अनुरोध गरे।
केसीले नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको पूर्वनिर्णयलाई पुनरावलोकन गर्दै वर्षौँदेखि रसियामा विभिन्न पेसा, व्यवसाय र उच्च शिक्षा अध्ययनमा संलग्न हजारौँ नेपालीहरूको सहज आवतजावत सुनिश्चित गर्न श्रम स्वीकृति र नवीकरण प्रक्रिया तत्काल सुचारु गर्न आग्रह गरे।
श्रम स्वीकृति रोकिएको पृष्ठभूमि
२०७९ पुस १९ मा वैदेशिक रोजगार विभागले युद्धरत देश रुसमा नेपाली कामदार सेनामा सहभागी हुने सम्भावना र त्यसबाट हुनसक्ने मानवीय जोखिमका कारण श्रम स्वीकृति रोक्ने निर्णय गरेको थियो।
मन्त्रीको प्रतिबद्धता
मन्त्री भण्डारीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउने प्रतिवद्धता व्यक्त गरेको केसीले बताए।
‘यसमा धेरै समस्या छैन। छिट्टै श्रम स्वीकृति खुला गर्छौं,’ भण्डारीले भने।
अन्य मुद्दामा छलफल
भेटका क्रममा केसीले इराकको कुर्दिस्तानमा रहेका नेपाली श्रमिकहरूको समस्याबारे पनि जानकारी गराउँदै तत्काल समाधानका लागि पहल गर्न अनुरोध गरे।
ज्ञापनपत्रका मागहरू
केसीले भेटका क्रममा मन्त्री भण्डारीलाई एक ज्ञापनपत्र
बुझाए। त्यसमा निम्न बुँदाहरू समावेश छन्:
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरूको ज्ञान, सीप, र पूँजीलाई स्थानीय स्तरमा परिचालन गर्दै पुनर्एकीकरण गर्न सहयोग पुर्याउने।
गैरआवासीय नेपाली लक्षित विप्रेषण र लगानीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने।
वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई अनिवार्य अभिमुखीकरण सीप दिने।
सातै प्रदेशमा व्यवसायिक सीप केन्द्र स्थापना गरी दक्ष जनशक्ति मात्र विदेश पठाउने।
वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई बैकिङ्ग च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न, पठाइएको रकममा २ प्रतिशतसम्म प्रिमियम उपलब्ध गराउने।
गैरआवासीय नेपाली संघले प्रस्तुत गरेका यी मागहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, र उत्पादक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।