Thursday, October 29, 2026
Homeराजनीतिरुकुम पश्चिम र जाजरकोटमा निर्वाचन तयारी सन्तोषजनक : अर्थमन्त्री खनाल

रुकुम पश्चिम र जाजरकोटमा निर्वाचन तयारी सन्तोषजनक : अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लामा निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी मूल्यांकन गर्ने क्रममा उनले शुक्रबार दुवै जिल्लाको भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा अर्थमन्त्री खनालले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए।

रुकुम पश्चिममा गरिएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी दिए। उनले २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको पनि बताए।

सो अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत निरीक्षण गर्दै मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग निर्वाचन तयारीबारे छलफल गरेका थिए।

त्यसैगरी जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी गराएका थिए। अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत निरीक्षण गर्दै मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीबारे छलफल गरेका थिए।

अनुगमनपछि अर्थमन्त्री खनालले दुवै जिल्लामा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताए। उनले स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको उल्लेख गर्दै आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका