काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि आफ्ना जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बजेट अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।
उनका अनुसार आज र भोलि सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ।
यसअघि रास्वपाले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा जनप्रतिनिधिहरूका लागि आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा विषयविज्ञ तथा पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए।
गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। पार्टीका अधिकांश जनप्रतिनिधि राजनीतिक, संवैधानिक तथा कानुनी विषयमा नयाँ भएकाले यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास रास्वपाले लिएको छ।


