Saturday, August 15, 2026
Homeराजनीतिरास्वपाको दाबी: संसद्मा बिजनेस अभाव छैन, विधेयक ल्याउने तयारी तीव्र

रास्वपाको दाबी: संसद्मा बिजनेस अभाव छैन, विधेयक ल्याउने तयारी तीव्र

काठमाडौं। प्रतिनिधि सभाको बैठक पटक–पटक स्थगित भइरहेका बेला सरकारमाथि संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको आरोप लागिरहेका छन्। तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उक्त आरोप अस्वीकार गर्दै संसद्मा विधेयक दर्ता गर्ने तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार संसद् सचिवालयले बैठकको कार्यतालिका (क्यालेन्डर) तयार गरिरहेको छ भने सरकारले आवश्यक विधेयक संसद्मा ल्याउने तयारीलाई तीव्र बनाएको छ।

उनले संसद् स्थगित हुनु प्रक्रियागत विषय भएको उल्लेख गर्दै अधिवेशन अन्त्य नभएको र असोज २१ गतेसम्म अधिवेशन सञ्चालन हुने बताए।

परियारका अनुसार सरकारले १६६ वटा कानुनका मस्यौदा तयार पारेको छ। ती मस्यौदालाई आवश्यक प्रक्रिया पूरा गरी विधेयकका रूपमा संसद्मा दर्ता गरिनेछ। उनका अनुसार हाल पूर्व–विधायिकीकरणको चरणमा काम भइरहेको छ।

प्रतिपक्षले सरकारले संसद् छल्न खोजेको आरोप लगाइरहेका बेला परियारले संसद्मा ‘बिजनेस’को अभाव नरहेको दाबी गरे। उनले अहिले पुराना विधेयकहरूको अध्ययन, संशोधन तथा नयाँ विधेयकको तयारी समानान्तर रूपमा भइरहेको बताए।

उनले राष्ट्रिय सभाबाट आएको चलचित्र विधेयक संशोधन प्रक्रियामा रहेको उल्लेख गर्दै आवश्यक विधेयकहरू क्रमिक रूपमा संसद्मा दर्ता गरिने जानकारी दिए। हतारमा कानुन बनाउँदा भविष्यमा समस्या आउन सक्ने भएकाले सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको उनको भनाइ छ।

परियारले दसैँअघि संसद्को नियमित कार्यतालिका पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै संसद् सचिवालय, सभामुख र सरकारबीच निरन्तर समन्वय भइरहेको बताए।

उनका अनुसार संसद्को क्यालेन्डर निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। हालसम्म १५–२० वटा नयाँ विधेयक दर्ता भइसकेका छन् भने संसद्को कार्यशैलीलाई थप प्रभावकारी बनाउन सदन र समितिको समय व्यवस्थापनमा समेत सुधार गरिएको उनले बताए।

नयाँ संसद् भवनको निर्माणमा प्राविधिक कारणले केही ढिलाइ भए पनि दसैँअघि नयाँ भवनबाट संसद् सञ्चालन गर्ने लक्ष्य रहेको परियारले जानकारी दिए। उनका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि संसद् सचिवालय, समितिहरू र विधेयकमाथिको छलफल थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका