काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन अभियान आज पनि जारी रहेको छ। पार्टीले आइतबार देशका विभिन्न २९ जिल्लामा जिल्ला अधिवेशन आयोजना गरेको जनाएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज कोशी प्रदेशका ४, मधेश प्रदेशका ४, बागमती प्रदेशका २, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशका ३, कर्णाली प्रदेशका ६ तथा सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन हुँदैछ।
यसअघि शनिबार देशका ३६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको थियो। संगठनात्मक विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको पार्टीले जनाएको छ।
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ जिल्लामध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। सो लक्ष्यअनुसार अधिकांश जिल्लामा संगठन निर्माण तथा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ।
पार्टीका अनुसार बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि आयोजना गरिनेछ। जिल्ला अधिवेशनमार्फत संगठन सुदृढीकरण तथा आगामी महाधिवेशनको तयारीलाई तीव्रता दिइएको रास्वपाले जनाएको छ।


