काठमाडौँ, ६ असार:नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनी—पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमति खारेज गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकका रूपमा प्राप्त अनुमति विभिन्न कानुनी प्रावधान उल्लङ्घन भएको ठहर गर्दै खारेज गरेको हो।
पेवेल नेपाल प्रालिले २०७७ साल असोज ११ गते र सजिलो पे पेमेन्टले २०७७ चैत १७ गते भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति पाएका थिए। तर, भुक्तानी तथा फस्र्यौट ऐन, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, विनियमावली तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधानको उल्लङ्घन भएको पाइएपछि अनुमति खारेज गरिएको हो।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुवै कम्पनीको अनुमति खारेज गर्ने निर्णय गरेको हो। सो निर्णयअनुसार आम नागरिकलाई जानकारी दिइएको केन्द्रीय बैंकले जनाएको छ।


