मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ ।
बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् । संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताए । ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ,’ उनले भने ।
उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वाग्मती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।
यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।
यसैगरी राष्ट्रियसभामा रिक्त अर्को एक पदका लागि लुम्बिनी प्रदेशमा यही जेठ १७ गते उपनिर्वाचन हुँदै छ । त्यहाँ नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी–५ का चन्द्रबहादुर खड्का र दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन् । अनलाईनकर बाट