Saturday, November 7, 2026
Homeसामाचारप्रधानमन्त्री कार्कीद्वारा तिहारको शुभकामना

प्रधानमन्त्री कार्कीद्वारा तिहारको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न सबै नेपालीलाई आग्रह गर्नुभएको छ।

तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वका अवसरमा आज जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र सुशासनका लागि शुभकामना व्यक्त गर्नुभएको हो।

“कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो,” सन्देशमा भनिएको छ, “तसर्थ कुनै पनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ।”

प्रधानमन्त्री कार्कीले स्थिर सरकार गठनका लागि ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने प्रतिज्ञा गर्दै त्यसका लागि राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनुभएको छ।

सन्देशमा भनिएको छ, “फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ।”

प्रधानमन्त्री कार्कीले भदौमा सम्पन्न महान् जेनजी आन्दोलनले सरकारमाथि जुन भरोसा र जिम्मेवारी सुम्पेको छ, त्यसको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सुशासन र विकासका लागि आवश्यक आधार तयार भइसकेको छ।

दीपावलीको उज्यालोसँगै आउने यी पर्वहरू आशा, विश्वास र समृद्धिका प्रतीक भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयका रूपमा यी पर्वहरू मनाउन सबैलाई आग्रह गर्नुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका