काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन पुनः आग्रह गरेको छ। यसअघि केन्द्रीय बैंकले एकीकृत निर्देशनमार्फत नै यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो।
राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था गरेको छ। साथै, काठमाडौँ उपत्यकामा जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविरहरू मार्फत पनि परिचयपत्र प्रदान गरिँदै आएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पोर्टलमार्फत परिचयपत्र नम्बर र आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ। विभागको पोर्टलमार्फत प्राप्त परिचयपत्र नम्बरको आधारमा बैंक खाता खोल्न ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक निर्देशन दिइएको केन्द्रीय बैंकले जनाएको छ।