Saturday, May 2, 2026
Homeकला/साहित्यराष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी

राष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी

नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी ४९० प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई वटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए ।

प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको छ । पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने पनि उनले सुनाए । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ ।

पुस्तक प्रदर्शनी उद्घाटन गर्नुहुँदै कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानका नयाँ प्रकाशनका बारेमा जानकारी दिन पनि १५ दिने कार्यक्रम उपयोगी हुने बताए । पाठकको चासो बढ्यो भने प्रदर्शनीको अवधि थप गरिने उनले जानकारी दिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा तीनवटै प्रतिष्ठान र सांस्कृतिक संस्थानले सोमबार एकीकरण अभियानमा विभिन्न समुदायको सहभागिताका विषयमा प्रवचन कार्यक्रम आयोजना गरेका छन् ।

यस अवसरमा आजैदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला प्रदर्शनी सुरु गरिएको छ । पुस २७ गते सांस्कृतिक र्यालीसहित सिंहदरबारको पश्चिम मूलढोकामा पुगी पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत राखिएको कुलपति उप्रेतीले जानकारी गराए । त्यसैदिन दिउँसो संस्थानको हलमा नेपालको विविध सांस्कृतिक झाँकीसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका