काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदैछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले उक्त प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आज विभिन्न पाँचवटा संसदीय समितिको बैठकसमेत बस्दैछ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति तथा महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो ।
बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । त्यस्तै, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ ।
बिहान ११ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता’ सम्बन्धमा छलफल हुनेछ ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गरिनेछ ।
यस्तै, बिहान ११ बजे बस्ने महिला तथा सामाजिक विकास समितिको बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिको विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।


