काठमाडौँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार श्रेष्ठविरुद्ध दर्ता भएको जाहेरीमा वैयक्तिक गोपनीयता सम्बन्धी कसुरको आरोप लगाइएको छ । जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले श्रेष्ठलाई औपचारिक रूपमा थुनुवा पुर्जीसमेत दिएको छ । पुर्जीमा दिपिका सिंहको जाहेरीका आधारमा नेपाल सरकार वादी र किशोर श्रेष्ठ प्रतिवादी रहेको उल्लेख छ । ललितपुर महानगरपालिका–३ झम्सिखेल बस्ने ५५ वर्षीय श्रेष्ठलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकाले पुर्जी जारी गरिएको जनाइएको छ ।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो । उक्त सामग्रीमा नाम जोडिएकी एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको बताइएको छ ।
सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


