Sunday, May 31, 2026
Homeमुख्य समाचारराष्ट्रियसभालाई सम्बोधन गर्ने राष्ट्रपतिको इच्छा

राष्ट्रियसभालाई सम्बोधन गर्ने राष्ट्रपतिको इच्छा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने चाहना व्यक्त गरेकी छिन् । आइतबार वा सोमबारको राष्ट्रियसभाको बैठकमा राष्ट्रपति उपस्थित हुने र बैठकलाई सम्वोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् । राष्ट्रपतिले आइतबार वा सोमबार सम्वोधन गर्ने तिमिल्सिनाले समितिलाई जानकारी दिए ।

उता, संसद सचिवालयका कर्मचारीहरु भने दुबै सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरूबेला राष्ट्रपतिले संसदमा यसरी उपस्थित हुने परम्परा नरहेको बताउँछन् ।

राष्ट्रियसभाको बैठकलाई राष्ट्रप्रमुखले सम्वोधन गर्ने संसदीय परम्परा नरहेको  संसद सचिवालयका एक कर्मचारीले रातोपाटी बताए ।

यद्यपि, संविधानको धारा ९५ को उपधारा १ ले राष्ट्रपतिलाई राष्ट्रिय सभाको बैठकमा सम्वोधन गर्ने ईच्छा जागेमा ढोका चाहिँ थुनेको छैन । धारा ९५ (१) भनिएको छ,‘राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने छ ।’

तर, धारा ९५ को उपधारा २ लाई हेर्ने हो भने राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशनलाई र संयुक्त सदनको बैठकलाई सम्बोधन गर्ने किटेर लेखिएको छ ।
संविधानको धारा ९५ (२) मा भनिएको छ,‘राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय सदनको दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्नेछ ।’

अहिले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने अवस्था पनि नरहेको र संसदमा सम्वोधन गर्ने कुनै विषय पनि नभएको बेलामा राष्ट्रपति संसदमा उपस्थित हुनुले राष्ट्रपति सक्रिय हुन थालेको सन्देश जाने राष्ट्रियसभाका सदस्यहरुको धारणा छ ।

राष्ट्रियसमा विपक्षी दलका एकजना सांसदले रातोपाटीसँग भने, ‘अध्यादेशबाट शासन चलाइरहेका बेला राष्ट्रपतिज्यू के भन्नलाई संसदमा आउन लाग्नुभएको हो ? अदालतमा राष्ट्रपतिकै कदमविरुद्ध मुद्दा चलिरहेका बेला राष्ट्रपतिको सम्वोधन  अर्को हस्तक्षेप ठहरिने उनले बताए ।

गृहमन्त्रीबारे गलफती

यसैबीच, विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले बैठकको सुरुमै गृहमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने माग भएको बताएका थिए । यही विषयलाई दलका नेताहरुसँग केहीबेर तर्क–वितर्क भएको थियो ।

अन्ततः दुबै चरणमा बैठक राख्ने, पहिलो चरणमा दलका नेताहरुले सम्वोधन गर्ने र केही बेर बैठक स्थगन गरेर दोस्रो चरणमा गृहमन्त्रीलाई बोल्न दिने सहमति भएको राष्ट्रिय सभाका एक सदस्यले जानकारी दिए ।

गृहमन्त्री पौडेल अध्यादेशहरु पेश गर्नका लागि संसदमा उपस्थित हुन लागेका हुन् । विपक्ष दलले अध्यादेशको विरोध गर्ने जनाएका छन् ।

राष्ट्रियसभाको आठौं अधिवेशन आज अपरान्ह ४ बजेदेखि शुरु हुँदैछ । रातोपाटीबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका