कतार (दोहा)। राष्ट्रपति रामचन्द्र पौडेलले कतारको राजधानी दोहामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका छन्। यो भेटवार्ता राष्ट्रपति पौडेलको नेतृत्वमा कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को अवसरमा भएको हो।
भेटवार्तामा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूको कार्यान्वयन र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघले खेल्दै आएको भूमिकाको प्रशंसा गरे। उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य हासिल गर्न नेपाल राष्ट्र संघसँग निकट भएर काम गर्न तयार रहेको बताए।
उनले जेन–जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको र त्यसले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासनको माग पूरा गर्न प्रतिबद्ध रहेको जानकारी दिए। प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा भएको र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनमार्फत सुशासन, विकास र समृद्धि सुनिश्चित हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू नेपालमा असमानुपातिक र गम्भीर रूपमा अनुभव भइरहेको उल्लेख गर्दै, यसका असर न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको बताए। उनले सगरमाथा आधार शिविरको भ्रमणको उदाहरण दिँदै हिमालहरूको पग्लँदै गइरहेको हिउँले पारिस्थितिकी प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने जनताको जीवनमा जोखिम सिर्जना गरिरहेको बताएका छन्।
गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशितालाई सुनिश्चित गर्न विश्वव्यापी प्रतिबद्धतालाई पुनः दोहोर्याउने र दिगो विकास एजेन्डा २०३० को कार्यान्वयनलाई तीव्रता दिने यो सम्मेलनको महत्वमा राष्ट्रपति पौडेलले जोड दिएका छन्। उनले नेपालले शिक्षा, स्वास्थ्य, मानव विकास र सामाजिक सुरक्षामा उल्लेखनीय प्रगति हासिल गरेको पनि बताए।
यस अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले जलवायु परिवर्तनको प्रभाव भोगिरहेका मुलुकहरूका लागि विकसित देशबाट सहयोग उपलब्ध गराउने र कार्बन उत्सर्जन घटाउनेतर्फ पनि उनीहरूको प्रयास जारी रहेको जानकारी दिए। उनले नेपालमा मानव अधिकारको संरक्षणमा गरिएको प्रगतिको प्रशंसा गर्दै, नेपालका संस्थाहरू आफ्नो समस्या समाधान गर्न सक्षम रहेकोमा पूर्ण विश्वास रहेको पनि बताए।


