Friday, June 19, 2026
Homeसामाचाररामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति, स्थानीयलाई आवतजावतमा समस्या

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति, स्थानीयलाई आवतजावतमा समस्या

रामेछाप (मन्थली): असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने नौवटा पुलमा क्षति पु¥याएको छ। बाढीका कारण पुल भत्किँदा स्थानीयलाई आवतजावतमा ठूलो समस्या भएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक राजुप्रसाद पौडेलका अनुसार सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, तथा सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र मन्सुलीघाटका झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

बाढीले बगाएको खुर्कोटको पक्की पुलमा सेनाको सक्रियतामा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ, तर खैरेनीघाटको पुल पुनर्निर्माण कार्य भने अझै सुरु भएको छैन। विभिन्न स्थानमा झोलुङ्गे पुल बगाएपछि खाँडादेवी गाउँपालिकाले पालिकाभित्रका प्रभावित बासिन्दालाई राहत दिन ‘र्‍याफ्टिङ’को व्यवस्था गरेको छ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित दुईवटा झोलुङ्गे पुल बगाएपछि स्थानीय बासिन्दाले तत्कालका लागि र्‍याफ्टिङमार्फत कोसी वारपार गर्न थालेका छन्। वडाध्यक्ष रामकुमार श्रेष्ठका अनुसार जोखिम न्यूनीकरणका लागि अस्थायी रूपमा र्‍याफ्टिङको व्यवस्था गरिएको हो।

पुल भत्किँदा शिक्षा, स्वास्थ्य उपचार र अन्य सेवामा समस्या परेपछि खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले र्‍याफ्टिङ सञ्चालनको व्यवस्था गरिएको बताउनुभयो। उहाँका अनुसार पालिकाले कोथबे र लुवुघाटका माझी समुदायलाई कोसी वारपार गर्न र्‍याफ्टिङ बोर्ड उपलब्ध गराएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार, तालिम प्राप्त चालकले ‘लाइफज्याकेट’ सहित र्‍याफ्टिङ सञ्चालन गरेकाले नागरिकलाई आवतजावतमा केही सहज भएको छ। यो सुविधाले स्वास्थ्योपचार सेवा लिन, कृषिकर्म गर्न, र अन्य दैनिक कामका लागि कोसी वारपार गर्न राहत पुर्‍याएको छ।

सुनकोसीमा आएको बाढीले झोलुङ्गे र पक्की पुलसमेत बगाउँदा गाउँपालिकाका विभिन्न स्थानका बासिन्दा समस्यामा परेका छन्। विशेष गरी पुछिघाटको पुलमा भएको क्षतिका कारण खाल्टेमा अध्ययन गर्न जाने विद्यार्थीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

खाँडादेवी गाउँपालिकाका कोथबे, पुछिघाट लुवु, र डप्खाल क्षेत्रका माझी समुदायले कोसी वारपार गर्न थप र्‍याफ्टिङ बोर्डको माग गरेका छन्। अध्यक्ष श्रेष्ठले र्‍याफ्टिङ सेवा थप प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने बताउनुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका