काठमाडौँ: कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार भएको थुनछेक बहसपछि यस्तो आदेश आएको हो। सहकारीको बचत रकम अपचलन मुद्दामा आजै बहस सकिएको थियो। न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि प्रतिवादीहरूको थुनछेक बहस चलिरहेको थियो।
लामिछानेसहित सहकारी ठगी मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतविरुद्ध पनि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दायर भएको थियो। लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधको मुद्दा चलाइएको छ भने खनाल, जोशी र पछाईँसहित सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरिएको छ।