काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी उनलाई हिरासतमा राख्ने आदेश दिएको हो।
लामिछानेको बयान केही समयअघि सकिए पनि थुनछेक बहस सुरु नभएपछि उनलाई सोमबार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्न आदेश गरिएको छ।
सोमबार बिहान अदालत खुल्नु अघि नै बबरमहलस्थित जिल्ला अदालत पुगेका लामिछानेले सुरुमै आफ्नो बयान दिएका थिए। अदालतले धरौटी मागेमा उनी रिहा हुने भए पनि बयान नसकिएको वा धरौटी नमागेमा अझै हिरासतमा बस्नुपर्ने परिस्थिति रहेको थियो।
गत कार्तिक २ गते सूर्योदय सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने ८४ दिनपछि ६५ लाख धरौटी बुझाएर पोखराबाट रिहा भएका थिए। तर, समय अभावका कारण उनी तत्काल काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन्।
उनकी श्रीमती निकिता पौडेलले लामिछाने कास्कीबाट काठमाडौं आइपुग्न ढिलाइ भएकाले शुक्रबार अदालतमा उपस्थित हुन नसकेको जानकारी दिएकी थिइन्।
हाल लामिछाने कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएको थियो।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा अदालतले बयान लिने प्रक्रिया अघि बढाएको छ।
नोट: थुनछेक बहस नसकिएकाले लामिछानेलाई सोमबार फेरि अदालतमा पेस गरिनेछ।