काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा नयाँ ठगी मुद्दाको तयारी गरिएको छ।
चितवन प्रहरीले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
यसअघि पनि सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन पेश गरिएको थियो। पछिल्लो प्रतिवेदन अनुसार सहकारीले विभिन्न कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ लगानी गरेको पाइएको छ।
प्रमुख लगानी विवरण
गोर्खा मिडिया नेटवर्क प्रालि: १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ
नेचर हर्ब्स इन्टरनेसनल प्रालि: ९ करोड ७३ लाख ८१ हजार ५९७ रुपैयाँ
जिबी ग्रुप अफ कम्पनी: ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ
स्प्रिङ उड रियल स्टेट: ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ
नेचर नेस्ट प्रालि: ६ करोड ५१ लाख १० हजार ३२२ रुपैयाँ
अनुसन्धानका अनुसार सहकारीका ६,३३४ बचतकर्ताको जम्मा बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ छ। सहकारीको कुल दायित्व ६५ करोड १६ लाख ७१ हजार ७१२ रुपैयाँ रहेको पाइएको छ। सहकारीले कर्जा लगानी गरेकामा ५६ करोड २२ लाख ५० हजार ११५ रुपैयाँ फिर्ता लिन बाँकी छ।
कानुनी प्रक्रिया
प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार कानुनी कारबाहीको माग गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
लामिछानेका अन्य मुद्दाहरू
रवि लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए।
कास्की र काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा लामिछाने निर्दोष देखिएका छैनन् भन्दै धरौटी माग गरेको थियो।
ठगी आरोपका सहकारीहरू
लामिछानेसहितका प्रतिवादीहरूमाथि कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा, रुपन्देहीको सुप्रिम, र पर्साको सानोपाइला सहकारीको रकम ठगेको आरोप छ। यी सहकारीका मुख्य सञ्चालक जिबी राई फरार छन्। उनका पार्टनर छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेललगायत हुन्।